बिप्लव प्रतिक – युद्धपछि
मैले थाहा पाइसकेँ
अब मानिसहरूले मनको आवाज सुन्न सक्दैनन्
अब कसैको दुःखमा कोही रुनेछैन ।
र म,
संवेदना बेचेर खाएको कङ्गाल शहरमा
घण्टाघर र धरहराको घाउ हेरेर
रानीपोखरीमा रुँदैछु ।
मैले थाहा पाइसकेँ
अब मेरो धरती
छिनछिनमा बल्झिने दीर्घरोगले नै मर्नेछ,
कुनै वीर्यवान शक्तिपुरुष आएन
उसको बाँझोपन फुटाउन ।
अब थाक लाग्दै जानेछ
चाउरी परेका बैँस
अनि बन्नेछ एउटा फुसफुसे चट्टान
र, हाम्रो इतिहास दबिनेछ
त्यही चट्टानको धूलोमा कुनै दिन ।
मैले थाहा पाइसकेँ
अब जीवन, जीवनजस्तो हुनेछैन,
नक्कली फूल र इसारामा
मानिसहरूले संवेदनाको भाषा बिर्सनेछन् ।
आउ, आज हाम्रो पौरुषको मृत्युमा
काट्टो खाने तयारी गरौँ ।
त्यो घाम अब हाम्रो पोल्टाबाट फुत्किसक्यो,
जूनले अब हाम्रो अँध्यारो मझेरीमा उज्यालो ल्याउने छैन ।
तिमीहरू सबले थाहा पायौ ?
अब हामी मनको आवाज सुन्न सक्तैनौँ ।
घट्टेकुलो