Kishor Pahadi – Yojana

किशोर पहाडी – योजना

आफ्नो मनका केही दुःखहरु
पोल्टोमा बाँधेर
आऊ हामी आगो समाऔँ
आगोले बोल्ला
हत्केलाको भाग्यरेखा
आऊ हामी घाम समाऔँ
घामले डढाउला
हत्केलाको आयुरेखा
आऊ हामी हतियार समाऔँ
हतियार समाएर
अब छिया छिया पार्न थाल्छौ
रहरका शिकारहरुलाई
निर्द्वन्द
भालेहरु बास्न थाल्छन
आलीमा उभेर
सन्नाटालाई चिरेर
जब कराउन थाल्छन्
झयाउँकिरीहरु
सगोल
आँधी आत्तिन थाल्छ,
– विश्वास आज कुनै कठघरामा उभिन सक्दैन
– मोहमायाको तगारो कुनै प्रवेशद्वारमा तेर्सिन सक्दैन
आऊ हामी आगो समाऔँ
घाम समाऔँ
र हतियार समाऔँ
आज इच्छाहरु जुर्मुराएका छन् ।