Ramesh Khakurel – Dashain

रमेश खकुरेल – दशैं
(Source : Himal Khabar)

गइन् वर्षा नानी खुलुलुलु पखालेर धरती
शरत् हाँस्तै आयो सबसित लगाएर पिरती
सफा चिल्ला राम्रा तरुवनहरू पात हरिया
फलेका छन् नाना फलफुलहरू टम्म रसिला।

सकी खेती पाती कृषकजनले फुर्सत लिए
घट्यो चर्काे गर्मी न त छ सरदी ठिक्क समय
यही मौका पारी घरघर दशैं आगमन भो
खुशीको वेलामा जुरु जुरु यसै नाच्न मन भो।

जगन्माता सृष्टि स्थिति प्रलय गर्ने भगवती
उनै काली वाणी सहित धनलक्ष्मी शुभ गति
गरी पूजा आजा जगमग उमारेर जमरा
यही माग्छांै आमा छर करुणता प्रेम छहरा।

विदेशै लागेका जन पनि बिदा ली घर फिरे
अनेकौँ कोसेली सहित खुशियाली घर भरे
टिका थाप्छन् ठूला जनसित शुभाशीर्वचन ली
शुभेच्छा है भन्छन् परिचितहरूसाथ निहुरी।

मिठो खाने राम्रो पहिरन लिने यो समय हो
घृणा ईर्ष्या बिर्सी मिलजुल हुने यो समय हो
सबैमा फैलाई विनय समता प्रेम करुणा
दशैं राम्रो पारौं अझ् सुख थपौं जीव जगमा।