Bal Mukunda Karki – Bhyaguta Haru

बालमुकुन्द कार्की – भ्यागुताहरू
(Source: Himal Khabar)

पोखरीको डिलमा हिलाम्मे भ्यागुतो
कहिले डिलमाथि, कहिले डिलमुनि
आँखा चिम-चिम गरी नियालिरहेछ
पोखरी उही दलदले हिलै छ
केही हिलाम्मे भ्यागुताहरू
ट्वार-ट्वार उहीँ उफ्रिरहेछन्
छत्ल्याङ-छुत्लुङ

सेताम्यै पल्टिएका माछाहरू
साना माछाहरू
ठूला माछाहरू
अनि उही पोखरीका सर्पहरू
डिलमाथिको खोपीमा
मस्त लपलपाउँदै डिलमुनि नियालिरहेछन्

कसैलाई हर्ष कसैलाई विस्मात्
कथा आ-आफ्नै छ

हिलाम्मे भ्यागुतो डिलमा बसेर
चिम-चिम आँखा गर्दै
नाक खुम्च्याउँदै, मुन्टो हल्लाउँदै
उही पोखरीको भ्यागुता नियालिरहेछ।