Yuddha Prasad Mishra – Chhaun Hami Badmas

युद्धप्रसाद मिश्र – छौं हामी बदमास

व्यथा दूर भई निम्न वर्गमा
शान्तिको लिन सास
आयो क्रान्ति ठूला-ठालुको
उडे होस हवास

लाखौं झुपडीका प्रगतिमा
महलहरूको नाश
जीवन सारा लुटिएकाको
खुकुरीमा विश्वास

हाम्रा श्रमले महल-महलमा
हुन्छन् हास बिलास
रण्डी नाच्छन् व्हिस्कि ब्राण्डी
ढल्छन् कयौं गिलास

जाग्यौं अब सन्तान देशका
पार्छौं एकै गाँसर्
वर्ग शत्रुका निम्ति हामी
उग्रवादी हौं खास

लुटिएका छौं पिटिएका छौं
खै हाम्रो घरबास
प्रति हत्याका वीर सिपाही
छौं हामी बदमास