इन्द्र नारथुङ्गे – अफिम आतंङ्क
मनको करेसोमा
लस्करै उभिएका
फूलका निर्दोश बोटहरुलाई उखेलेर
मैले अफिम छरेको छु
हिजो मात्र
र
आज
भत्काउँदैछु
आस्थाका पर्खालहरु
विश्वासका चौकोसहरु
श्रद्धाकाधुरी-खाँमाहरु
मन्दिरहरु गुम्बाहरु
मस्जिदहरु चर्चहरु
सिङ्हदरबार र ह्वाईटहाउसहरु
केवल
अफिम उमार्नकै लागि ।
देखेनौ
मेरा लाखौं कोपिलाहरु
फुल्दै नफुली मुर्झाएको
कहिले आस्थाको सेपले
कहिले विश्वासको तापले
कहिले श्रद्धाको श्रापले
हिरोसिमामा नागासाकीमा
बालीमा बम्बईमा
पेन्टागनमा ईराक-अफगानिस्तानमा
नारायणहिटीमा रोल्पामा डोल्पामा ।
यी सबै पागलहरु हुन्
पागल-जो बोले पनि बोल्न जान्दैन
पागल-जो खाए पनि खान जान्दैन
पागल-जो िहंडे पनि िहंड्न जान्दैन
र
पागल-थाहा पाएर पनि थाहा पाउँदैन
नत्र हेर त
तिम्रा आस्थाका पुजारीलाई
विश्वासका विभिषणलाई
श्रद्धाका सुदामालाई
मन्दिरमा मस्जिदमा
गुम्बामा चर्चमा
सिंहदरबारमा ह्वाईटहाउसमा…॥
निशंकोच फत्फताई रहेछन्
निर्वाध हसुरिहेछन्
निर्बन्ध दगुरिहेछन्
थाहा पाएर पनि थाहा नभए जस्तै ।
खोतलेर सुँग्दा
घृणा ह्वास्स गन्हाउछ माटोमा
तातो होस् चिसो होस्
शङ्का ठ्वाँस्स गन्हाउन्छ आँटोमा
र
हिंड्दा पराईमात्र भेटिन्छ बाटोमा
धर्ममा कर्ममा
सत्तामा शक्तिमा
विचारमा ब्यवहारमा
मान्छे
टुक्राटुक्रा छरपष्ट अलमल्ल असरल्ल
आस्थाहरु विश्वासहरु श्रद्धाहरु…।
हो अब खाँचो छ
अफिम क्रान्तिको
अफिम आतंङ्कको
अफिम चेतनाको
अफिम-जो खान्छ र मात्छ
जो मात्छ-पागल बन्छ
जो पागल बन्छ-सबैलाई एक देख्छ
धर्ममा कर्ममा
सत्तामा शक्तिमा
विचारमा ब्यहारमा
रुपमा रङ्गमा
धनमा मनमा
एक संसार एक मान्छे
एक धर्म एक बर्ण
एक ब्यवहार एक बिचार
सबै उस्तै-उस्तै ।
हो
शक्ति धर्म र विचार बिरुद्ध
मैले सुरु गरें
अर्को नयाँ आतङ्क
अफिम आतङ्क ।