Shreeshisha Rai – Aba Timi Afno Naam Lekha

संस्मरणका कुनै डायरीहरुमा
तिम्रो नाम लेखिएको छैन
ईतिहासका कुनै पनि आवाजहरुमा
तिमीलाई संवोधन गरिएको छैन
यसकारण कि त्यसवेला
तिम्रो नामै थिएन
उभिएको शरिर तिम्रो थियो
तर छाँया तिम्रो थिएन
तिमी आफै आफ्नो नाम सोधीरहेका थियौ

अन्धकार उस्तै
अँध्यारोमा खोज्नुपर्ने
त्यो पनि नाम विडम्वना उस्तै
खोज्यौ तिमीले ४० का दशक भिर
खोज्यौ १९ औँ दिनसम्म लगातार
आँशु बग्ने आँखावाट रगत बग्यो
रगत बग्ने घाउवाट पानी पनि बगेकै हो
खोज्यौ आफ्नो नाम दशौँ वर्ष जंगलँअँध्यारोमा पनि
आफ्नो नाम खोज्दा खोज्दै आफै हराएको पनि हो
निधारमा सारा वेनाम धर्काहरु कोरेर
जंगलपछिको शहर

अनाम शहरमा बेनाम जिन्दगी पनि वाँचेकै हो
हो त्यतिखेरसम्म तिमीलाई
नामको उत्कर्ष तिर्खा लागीसकेको थियो
त्यो प्यास
खोजीको त्यो लामो यात्रा अनि तृप्तता
अहिले तिम्रो हात स्वतस्फूर्त चलायमान छ
यसकारण कि तिमीले हातमा
कलम हासिल गरेका छौ
लेख्नका लागि तिमीसँग
समयका पन्नाहरु छन्
जुन नाम तिमी खोजीरहेका थियौ
त्यही नाम अव तिमी आफै लेख्न सक्छौ
नाम लेख्ने त्यहि धर्कावाट तिमी
देशको ‘नयाँ’ मानचित्र कोर्न सक्छौ।

वैशाख २१, २०६५, तरहरा, सुनसरी