Kamal Koirala – Asare Mahima

कमल कोइराला – असारे महिमा
(Source: मधुपर्क असार, २०६७)

चर्काे घाम कडा परेर जगमा सुख्खा छ सारा चीज
तिर्खाले मुख आँ… गरेर दिनमा सुक्छन् गराका बीज ।
सुख्खा भैकन वैलिएर नमरून् भन्दै फिँजाई दया
आयो फेरि घुमी असार महिना उल्लास बोकी नयाँ ।।
र्झछन् पर्वतबाट श्वेत झरना खोला र खोल्साहरू
देखिन्छन् हरिया वनस्पतिहरू उस्तै पहाडी तरु ।
पानीको भल बग्छ खेतभरि नै भिज्छन् सबैका गरा
आयो फेरि घुमी असार महिना उल्लास बोकी नयाँ ।।
धस्छन् हातहरू सिँगार्न धरती सङ्घर्ष ठूलो गरी
देखी पौरख त्यो किसानजनको गाथा कहन्छे चरी ।
जोती खेत हिलो भएछ धरती हो बीउ रोप्ने कहाँ
आयो फेरि घुमी असार महिना उल्लास बोकी नयाँ ।।
खेताला अघि नै तयार अनि ती जोत्ने र खन्नेहरू
खप्छन् घाम, झरी सही दुख सबै भोकै मरून् ती बरु ।
गाई गीत कहीँ, कहीँ छमछमी नाच्छन् असारे जहाँ
आयो फेरि घुमी असार महिना उल्लास बोकी नयाँ ।।
खोलाको जलले हिलो दबदबे पारिन्छ धर्ती जब
हेर्दै फाँटतिरै कसेर पटुकी सानी झरिन् ती अब ।
हाँस्दै काम गरी ठिटा अनि ठिटी बूढा र पाका त्यहाँ
आयो फेरि घुमी असार महिना उल्लास बोकी नयाँ ।।
नेपाली त्यो सपना दिमागभरि नै उब्जाउँछन् रासन
जुट्छन् पौरख गर्न मानिसहरू धान्नै छ यो जीवन ।
यस्तो कार्य हुँदै रहोस् झिलिमिली बर्सेनि नौलो यहाँ
आयो फेरि घुमी असार महिना उल्लास बोकी नयाँ ।।