Narnath Luitel – Ganatantra Ko Putla (Nepali Byangya Kabita)

नरनाथ लुइँटेल – गणतन्त्रको पुतला (व्यङ्ग्य कविता)

खोलो अब तलतिर होइन मास्तिर बग्छ
आकाश निहुरिएर भुइँमै लम्पसार पर्छ
र अब जमिन उचालिएर आकाश बन्छ
यो उलटपुलट हो, यो फेरबदल हो
समयले ल्याएको जबरजस्त अदलबदल हो ।

गणतन्त्रको स्वप्नवगैँचामा फुलेको म जुही हुँ, जाई हुँ
स्वनामधन्य म दुर्जकुमार राई हुँ
म राष्ट्रको पहरेदार एक सिपाही हुँ
धेरै खतराहरूसँग लड्ने बहादुर योद्धा
म जनता र व्यवस्थाको कुशल संरक्षक हुँ
राजशाही व्यवस्थाको विरोधमा
कमिलासरी मानिसहरू सडकमा ओर्लिंदा
बज्र भएर उभिने म राष्ट्रसेवक हुँ
यसो गर्ने हजारौँ हजारको म एक्लो प्रतिनिधि हुँ ।

थामिनसक्नुको हुरी बनेर मानिस ओइरिन थाले
परिवर्तनको आँधी रोक्न दुर्गमा खटिएको म दुर्ज
टुलुटुलु हेरर बस्न कहाँ सक्थेँ र
कमिलाको गोलोमाथि निशाना दागेर दनादन
फुरनदाना लोड गरिएको पेस्तोल चलाएँ
यिनै गर्विला हातको पौरख हो
एकै थलोमा आधा दर्जन जति ढलाएँ ।

रगतले सडक हिलाम्य भएथ्यो
अखबारभरि त्यही रगत पोतिएथ्यो
एउटा बेबकुफ पत्रकारले खिचेको तस्विर
मेरो पौरखी कार्यको नमुना, निशाना
मैले रोक्न खोजेको आँधी, झन भूमरी परे उठ्यो
र एउटा घुर्मैलो बिहान म थामिरहेको छु भन्दाभन्दै
राजशाही ढल्यो, म हतास भएँ, म निराश भएँ
अखबारमा छापिएको तस्विर हेर्दै
म बसेको घरतिर चोरऔँलो ठड्याएको देख्न थालेँ
मेरो बहादुरीको कदर एकदिन कसो नहोला ?
प्रतीक्षाको पलपल गन्दै केही वर्ष बिताएँ ।

मेरो हातमा गन त छँदै थियो तर गणतन्त्र आएछ
मेरो गनले ताक्दाताक्दै उम्किएकाहरू सांसद र मन्त्री भएछन्
मैले पक्रेर लात्तै लात्तले भ्यानमा खाँदेकाहरू माथिमाथि गएछन्
मलाई बिर्सिए कि भनी चिन्ता लाग्नलाग्न थालेको बेला
मेरो प्रमोशन भयो, जो हुनैपथ्र्यो
मेरो पौरखको प्रशंसा गरियो, जो गर्नैपथ्र्यो ।

बिचरा सगुनहरूका आमाहरू व्यर्थैमा रुन्छन् किन ?
उनीहरूकै आँसुमा मेरो पौरख फलिरहेको छ मुस्काउँदै
बिचरा प्रल्हादहरूका पत्नीहरू बिलौना गाउँछन् किन ?
उनीहरूकै आलापबिलापमा
मेरो बहादुरीको बाली मौलाइरहेछ
त्यसैले त गणतन्त्र दिवसको पुनित अवसरमा
मलाई ‘सुप्रवल जनसेवाश्री’को तक्मा थमाइयो,
शिर निहुराएर मेरो बहादुरीमाथि सम्मान जनाइयो
क्याबात, मेरो सम्मानका सिफारिसकर्ताहरू
क्याबात, मलाई सम्मान गर्ने निर्णयकर्ताहरू
आहा, म कति प्रफुल्ल भएको छु
माउजरबाट त्यही पेस्तोल झिकी
हजारौँपटक चुम्मा खाएको छु ।

रुन्चेहरू डाँको छोडेर रोइरहेका छन्
पिञ्चेहरू आँसुको भल काडेर रोइरहेका छन्
म भने मेरो ज्यानमारा पौरखप्रति गौरव गर्दै
खित्का छाडेर हाँसिरहेको छु
म बहादुर दुर्जकुमार राई
म हजारौँ हजारको एक्लो प्रतिनिधि हुँ
म मौलिक नेपाली गणतन्त्रको खाँटी पुतला हुँ ।

१५ जेठ २०६७
तेस्रो गणतन्त्र दिवस