Bimala Tumkhewa – Gadtir Ma Ubhiyera

बिमला तुम्खेवा – गडतीरमा उभिएर

छातीमा —
संवेदना सकिएको बेला
यो निर्जन टापूमा
गाउनको निम्ति अब कुनै गीत छैन
भर्खरै —
आफन्तको मलामी गएर अस्ताएको दिन
उस्तै हुन सक्छ
जहाँबाट रोएका थियौँ हामीले आफैलाई बिर्सिएर ।

यो बत्ती निभेको गडतीर
नदीको बेप्रवाह छाल
मोडर्न निक्काले देखेको सपनाजस्तै
फरक हुन सक्छ —
आफ्नै अँध्यारो छायाँसँग
आउने अलग–अलग आकृतिजस्तै ।

छालजस्तै बगेर गैरहेछ
प्रेमको अधुरो प्रसङ्ग
हामीले देखेको बत्तीको मधुरो प्रकाशसँगै …
सुरक्षित छैन
हाम्रो अस्तित्व÷हाम्रो प्रेम
मोर्डन निक्काले देखेको सपनाजस्तै
छातीमा संवेदना सकिएको बेला
यो निर्जन टापूमा गाउनको निम्ति अब कुनै गीत छैन ।