बिमला तुम्खेवा – गुलाबी आकास र एकदिन
एउटा जीवन–
जो औसत मोन्छेहरुको हूलमा
पानी–पानी पग्लिरहेछ
पहाड भएर अग्लिरहेछ
तिमीलाई थाहा छ ?
कस्तरी…….
भीडहरुलाई छिचोल्दै–छिचोल्दै
मसम्म–
आइपुगेका थिए तिम्रा आँखाहरु
र, त्यसदिन आकास पनि गुलाबी–गुलाबी थियो
दिन
शरीरभरिभरि विसंगत खोपेर उभिएको छ
म–
सिंहदरबारको जेब्राक्रसमा उभिएर
सोचिरहेको थिएँ
विगतमा–यही चौरास्तामा उभिएर
कतिपटक मैले
लेखेर मेटाएथें हत्केलामा तिम्रा नामहरु ।
आफ्नो भनेर अनुभूतिलाई अँगाल्नु पनि
एउटा पहाड अग्लिनुरहेछ
एउटा समुद्र तर्नुरहेछ
आकाशजस्तै टिठलाग्दो
सपनाका क्षणहरुले
गुलाबी–गुलाबी भएर
परिबेशलाई बेहुली बनाइरहेको बखत
म–
सोचिरहेछु
साँच्चै……
पानीको वेगहरुमा
सपनाकाृ कुनै अर्थ हुन्नरहेछ
आफ्नो भन्नु आफन्त पनि आफ्नो हुन्न रहेछ
यही–
जेब्राक्रसमा उभिएर
मैले आज सधैं–सधैंको निम्ति
मेटाइदिएँ मस्तिष्कबाटै तिम्रा नामहरु