Rajendra Shalav – Timi Nahunda

राजेन्द्र शलभ – तिमी नहुँदा

सूर्य
आफ्नै रापले डढेर
कतै खोलामा झर्यो ।

खोला
बग्न छोडेर
त्यहीँ बालुवामै
सुक्न थाल्यो ।

चराहरूलाई
गुँड बनाउन मन लागेन
र , थुपारेका सिन्काहरू
मेरै छेउमा छोडेर
कतै उडी गए ।

हावा
बहन छोडेर
पीपलको हाँगामा
थकाइ मार्न बस्यो ।

ह्दयगति
हत्केलाका रेखाहरूमा
छट्पटाइरह्यो ।

आँखाहरू
अनिँदा रहे
सपनाहरू आउनै मानेनन् ।
ओठका मुस्कानहरू
औपचारिकताको मुग्लान पसे ।

उमेर
घामसँग
आँखा जुधाउन नसकेर
बेतोड कुद्न थाल्यो ।

मेरा कविताका
अक्षरहरू
सबैसबै हराए ।

भन तिमी कहाँ थियौ ?