Hom Bahadur Chhetri – Hijaaja Kunni Ke Bhayechha

होमबहादुर छेत्री – हिजाज कुन्नि के भएछ

मनको रथमा
कृष्णलाई सारथी बनाएर
महाभारतको युद्ध लड्नेहरु भन्दा धेरै छन्
मसानघाटका मृतात्माहरु

मुटुको झ्याल बन्द छ
आँखामा पट्टि छ गान्धारी जस्तै
धिर्तराष्ट्र जस्तै अन्धोपना
मनको भित्र सुसेली बजाउने चरो
बस्न थालेको छ नगरपालिकाको फोहोर फाल्ने गल्लिमा
भित्रि मान्छे मास्क लगाएर निस्कन्छ
हातमा बन्दुक समाएर
शिकार गर्न तिनै चराहरुको

मानिसलाई सहि बाटोमा लैजानका लागि
बनिरहेका छन्
फलामका रोबोटहरु
लाम लागिरहेका छन् मुटुविहिन प्राणी
रगतको मोल छैन
मोल छ त मात्र प्रपन्चको
शतरंज खेल्ने सिपको
अनि कसले कति धन कमाएको छ
कति बैंक ब्यालेन्स छ …..

हिजाज कुन्नि के भएछ
कल युग जस्तो छ
यो यन्त्रको युग