Rakesh Karki – Virus Haru

राकेश कार्की – भाइरसहरु

लाञ्छनाका भाइरसहरुले रुघाखोकी लगाउँदा पनि खोकिएन प्रिय
हार्टयाट्याक गराउने गरी धोका दिँदा पनि मुटु रोकिएन प्रिय

सिकाउने, भड्काउने, बिगार्ने, छुटाउने, कुरा लाउने कति धेरै
तिनैका लहलहैमा पिँजडाको सुगाले जस्तै पाठ घोकिएन प्रिय

म प्रेममा अन्धो थिँए हाम्रो सामुन्ने अजँगको पहाड थियो
तिमी खुरुक्क मोडियौ म हिँडिरहेँ मलाइ कतै ठोकिएन प्रिय

छाती चर्केको देखेर होला, भट्टीले स्वागतका ढोका खोलीदियो
बहाना पाएर, लाचार भएर, हरुवाले झैँ टन्न धोकिएन प्रिय

सबैजना स्वच्छन्द छन्, आफ्ना आफ्नै छुट्टै बिचार छन्
तिमीले जस्तो अर्काले बलजफ्ती लादेको बिचार बोकिएन प्रिय

-लस् एन्जेलस्