Khusi Mainali – Utha Naari Ho

खुसी मैनाली – उठ नारी हो

निहत्था एउटी नारीको सिउँदो खाली हुँदा
सहानुभूति पनि दर्शाउन नसक्ने तिम्रो अमानवीयता
आधा नेपाली आकाश सात समुन्द्रपारी पाखुरी बजार्न जाँदा
मूकदर्शक भएर हेर्ने तिम्रो नीरिहीपना
दुई छाक र एक सरो कपडाकै लागि हजारौँ कोस दुरीमा भौतारीँदा
धित मर्नेगरी दुधको लाम्टा चुस्न नपाएका नावालाग छोडेर
लालावालाको स्मृति मेट्न झोलामा फोटो खाँदेर मुग्लान भासिएका
नारीको वाध्यतालाई कहिल्यै बुझ्न चाहेनौ
कहिल्यै रसाएनन् तिम्रा आँखा
कहिल्यै बुझेनौ पीडा उनीहरुको
ए पुरुष भनाउँदा दमन लाद्नेहरु हो
अव त पीडाको अजस्र पहाड बोकेकी नारीलाई बुझिदेऊ
त्यसैले अब छोडीदेउ थोत्रा आडम्बरहरुलाई
तोडी देउ अब सामन्ति संरचनाका पिल्लरहरुलाई
साहस गर वर्ग सँघर्षको जालोलाई जरैबाट उखेल्न
नारी र पुरुष वीचको असमानतालाई मसानघाट पुरयाउन

नव भृकुटी र सीताको अवतारको खाँचो छ यहाँ
पुरुषहरुको तानाशाही अखडा भत्काउनु छ यहाँ
त्यसैले सुत्ने बेला हैन यो अधिकार लिने समय हो
आँसु पिएर हैन लडेर पहिचान लिने समय हो यो
खबरदार समाजका भरौटेहरु नारीहरुलाई खेलौना नठान अब
सहनशीलताको बाँध फुट्यो टुटीसके बन्धनका जन्जिरहरु अब
नारी दमनको विरुद्ध लड्नेहरुको चुनौती र न्यायिक युद्ध
थाम्न सक्ने हैसियत तयार गर ।
नारीको सम्वेदना छाम्न सक्ने हैसियत तयार गर ।

– धनकुटा – १ हिले बजार
हाल: इजरायल