Saroj Dhital – Pidaa Nilkantha Ko

सरोज धिताल – पीडा नीलकण्ठको

हे महादेव !
ए शङ्कर !

भन त नढाँटी,
दुख्दैन के साँच्चै त्यो नीलो घाँटी ?

कि तिमीसँग पनि छ
हिउँ जस्तो कुनै चीसो पीडा
जसले काठिएको छ
तिम्रा चीसो छाला
र तिमीलाई दुख्दै–दुख्दैन ?

या कुनै लेप छ तिमीसँग
निस्पृहाको
जसले लेपिएको छ तिम्रो बुढो गला
र विषले तिमीलाई पोल्दै पोल्दैन ?

ए शङ्कर !
म मान्छे तिमीसँग सोध्दैछु
भन त नढाँटी
के तिमीलाई रिस उठ्दैन ?
जब भक्तहरू आएर प्रार्थना गर्छन्
र भन्छन्–
“हे प्रभु !
फेरि एकचोटी पिई देऊ न हलाहल
जो निस्किरहेछ मेरै जीवनबाट
मन्थन भएर मेरै पापको डोरीले ”

जनवरी, १९९९