भूपिन ब्याकुल – पोखरा
यो सहरले मेरा आँखाहरु असाध्यै मन पराउँछ
र कहिलेकाहीँ
आफ्ना आँखाहरु टेबुलमाथिराखेर
मेरा आँखाहरुले मेरै तस्बिर हेर्छु भन्छ
यो सहरले मेरा ओठहरु पनि मन पराउँछ
र कहिलेकाहीँ
आफ्ना ओठहरुको सट्टा
मेरा ओठहरुले मेरै तस्बिरलाई हेर्दै हाँस्छु भन्छ
यो सहरले मेरो मुटु पनि मन पराउँछ
र कहिलेकाहीँ
मेरै मुटुले मलाईनै माया गर्छु भन्छ !
मेरा आँखाहरुले आफैंलाई हेर्दा म बारी कुरूप देखिन्छु
मेरै ओठहरुले हाँस्दा म बरु बिरही देखिन्छु
आफ्नै मुटुले आफैंलाई माया गर्दा म बरु मधुरो देखिन्छु !
तर कुन्नि किन
यो सहर मसंग मेरा शत्रुहरुभन्दा पनि बढी असहमत छ
जति माग्दा पनि
मलाई मेरा आफ्नै आँखा / ओठ र मुटु फिर्ता दिंदैन
उल्टै भन्छ –
‘ ओ पागल कवि
मैले फिर्ता दिनको लागि कहाँ राखेको हुँ र तिमीलाई
मनको गहिरो आकाशमा !’
मलाई थाह छैन
मलाई नै मन नपर्ने मलाई
यो सहर किन मन पराउँछ
यो पोखरा किन मन पराउँछ !