सरोज धिताल – घामको सपना
धेरै वर्षदेखि
ऊ यो यात्रामा छ ।
मान्छेको छोरो न हो !
सपना देख्थ्यो ऊ— घामलाई आफ्नो हातमा खेलाउने
रहर गथ्र्यो ऊ— घामको न्यानोले भुइँ तताउने
त्यसैको लागि निस्केको थियो यात्रामा
जब ऊ अझै बच्चै थियो,
कलिलै थियो ।
बाल्यकालका उसका
कोमल सुन्दर हातहरू
रुखा चट्टान समाउन पुगेथे
कलिला उसका पैताला
भीरको छाती टेक्न पुगेथे
केवल एउटै धोको लिएर–
डाँडाको टुप्पोमा पुग्ने
र नीलो आकाशमुनि
घामसित निर्बाध खेल्ने ।
साना कोमल हातहरू
जो घाम खेलाउन सधैँ लालयित थिए
हेर्दाहेदै बलिया र जवान भए
उसको यात्रा दुरुह बन्दै गयो
र पनि ऊ हिँडी नै रह्यो
किनकि घाम उसलाई बिछट्टै प्यारो थियो ।
विस्तारै—विस्तारै
उसका हातहरू त्यति सुन्दर रहेनन्
जीर्ण भए, कमजोर भए गोडाहरू
अब त्यति बलिया रहेनन्
र पनि ऊ हिँडि नै रह्यो ।
आखिर, एक दिन
जब ऊ पुग्यो चुचुरोनिरै
बिस्र्यो उसले घामका सपना
धमिलो भैसकेको
निस्तेज दृष्टि लिएर
छामछाम छुमछुम गर्दै
एउटा ढिस्को चढ्छ, लड्छ
अर्को ढिस्को चढ्छ, लड्छ
स्वप्नरहित !
निरुद्देश्य !!
वर्षौँसम्म बोकेको
खै कहाँ गयो उसको घामको सपना
ए, कसैले खोसेको छ कि ?
कसैले चोरेको छ कि ?
कि राखिदिएको छ जतन गरेर
भविष्यका सन्ततिका लागि ?