भूपिन ब्याकुल – परिवर्तन
म त्यही देशको उदास कवि हूँ
जहाँ परिवर्तनको नाममा
मात्र मौसम परिवर्तन हुन्छ !
रुखको देहबाट
उडेर जान्छ पुरानो गन्ध
र नयाँ बैंश पलाउँछ
हिमालको आँखाबाट
चुहिएर सकिन्छ निद्राको साँझ
बगिरहेको नदीहरुमा
फरकफरक लहरहरु दौडन्छन्
तर उस्तै छन्
सोचका साँघुरा गल्लीहरु
अन्त हुने हाम्रा यात्राहरु
हाम्रो जीवनको क्यालेन्डरमा
मात्र बर्ष परिवर्तन हुन्छ
जताततै
आवाजका लस्करहरु छन्
हामीसँग तिनीहरुलाई सुन्ने कानहरु छैनन्
जताततै
उत्सवका तयारीहरु छन्
हामीसँग तिनीहरुलाई देख्ने आँखाहरु छैनन्
युगका अँध्यारा गुफाहरुमा
हामीहरु
उही आदीम निद्रा सुतिरहेछौँ
हाम्रै आसपासबाट गुज्रिएर
मात्र समय परिवर्तन हुन्छ !
मा त्यही देशको गरिब कवि हुँ
जहाँ परिवर्तनको नाममा
मात्र मौसम परिवर्तन हुन्छ !