मनोज बोगटी – आँखाक्षर
उसका आँखाहरू
अक्षरहरू हुन्।
ती अक्षरहरू जब भुँइमा खस्छन्
मीठो कविता बज्छ
घरमा।
घर स्वर्ग बन्छ।
त्यो संसारको सबैभन्दा मीठो सङ्गीत
जसले थामेको छ जीवनको गह्रौं गरिमालाई।
ती अक्षरहरू
जब आँखामा जम्छ
मेरा दुःखहरूले मेरो साथ छोड़्छन्
मेरा सुखहरूले मेरो हात छोड्छन्।
जबयस्तो हुन्छ
ती अक्षरहरूले मलाई जीवन लेख्न अह्राउँछ।
म जीवन लेख्ने कोशिष गर्दा-गर्दै बित्छु।
मलाई थाहा छैन म बिते पछि
घरमा त्यो सङ्गीत बज्छ कि बज्दैन।