सरिता तिवारी – मेरो प्यारो मुर्चुङ्गा
मेरो प्यारो मुर्चुङ्गा !
खर्कतिर लाग्दा
अँगालाभारी धुन समेटेर ल्याउनु
मैले ओढेका रहरहरु
मैले पिएका कहरहरु
र अनुभव गरेका खुशीहरु
सम्पूर्ण
त्यही धुनमा मुछेर
म तिमीलाई खर्कभरी छर्छु !
म आफ्नै वरिपरी जमेकी छु
हिउँले छोपेका चाहन विस्वासहरु
बरफ बनेका छन् सपनाहरु
गोठ, तगरा, वन र खोल्साहरुमा
फिँजारेका तरंगहरु
सब
भयावह वर्तमानमुनि पुरिएका छन्
र पनि
प्रतिक्षारत आशाहरु
एउटा आयाम र उज्यालोको स्वागतार्थ
एक नितान अनुभूतिमा
समानान्तर धुनहरुक रेखा कोर्छन
जिजीबिषाहरुले निथ्रुक्क रुझाएको रात
स्वयंमा
बिक्षिप्त र तितर-बितर भएका बेला
म
धुनहरु सम्झन्छु मुर्चुन्गाका
मेरो प्यारो मुर्चुङ्गा !
खर्कतिर लाग्दा
अँगालाभारी धुन समेटेर ल्याउनु
म तिमीलाई खर्कभरी छर्छु !
२०५५/०५/१८