सरिता तिवारी – लालबहादुर
तिमीले देख्तैनौ
तिमीले बुझ्दैनौ
पढ्छौ मात्र
लालहदुरको कथा
जो आगोको मुस्लोबाट हुर्रिदै
दासताको बगरमा थेचारिन्छ
किताबका पन्नाहरुमा
लालबहादुर छापिन्छ:
उ पीडा गायनका अन्त:धुनहरु
शीत जस्तै ओकल्छ आँखाबाट
गीत जस्तै फलाक्छ भाकाबाट
हर नांगै
पेट भोकै
जहाँ परिवार
उफ् !
सुस्केराले
गरिबको युग बोलाउँछ
लालबहादुर
समयका त्रासदीय बाढी सँग
भयभीत हुँदै
बञ्जरमाथि दशनंग्रा खियाउँछ
तरउसको पसिनाको उब्जनीमाथी
अरु नै कोहि भागिदार बन्छ
जति हाड घोटे पनि
जति पसिना बगाए पनि
ऊसंग संधै
बगर हुन्छ, पथ्थर हुन्छ
सिस्नु र खोले हुन्छ
र पनि जिन्दगीले निवृत्ति नपाएसम्म
हिउँद-बर्षा
ऊ निरन्तर घोटीइरहन्छ
निरन्तर जोतिइरहन्छ
२०५४/०२/३२