सरिता तिवारी – सत्याग्रह: घाइते भूगोलको सिमनाभारी
लालीगुराँसका
सजल आँखाहरुबाट
शीत बग्दै छ कि आँशु?
बीभत्स
युद्ध असन्तुलनमा
रगतपिच्छे
मेरा आस्थाका क्षितिजहरु
सिमनानेरै
सत्याग्रह गरिरहेछन
ए
कसले बजाइरहेछ यहाँ
आतंकका साइरनहरु ?
थाह छ?
गुराँसहरुलाई
फाँसीमा लटकाइएको साँझ
कति बेली, चमेलीहरुले
आत्मदाह गरिसके ?
अर्तनाद र प्रलाफरुले ब्याप्त
सशंकित अन्धेरिहरु पछि
यो भयानक पार्श्वभूमिमा
मेरा
थुप्रै प्रियजनका लाशहरु
भेटिएका छन्
म
घाइते भूगोलभित्र
मान्छे
निस्सासिई-निस्सासिई मार्दै गरेको
हेर्न सक्तिन,
म
युद्धजनित मिसाइलका
बर्बर बुटले कुल्चेर
कसैले
इतिहासलाई
कुरूप बनाउँदै गरेको हेर्न सक्तिनँ
यतिबेला
म
मुटुभरी संवेदनाका नीलडामहरु
र
आँचलभरि विमोचित चोटहरु बोकेर
सिमानानेरै सत्याग्रह गरिरहेछु-
युद्धविरामका निम्ति
२०५५/१२/३