सरिता तिवारी – अलिखित इतिहास र अभिनव जिन्दगी
अलिखित इतिहासमा
तिमी थियौ
म थिएँ
उनीहरु थिएर सघन जंगलहरु थिए
हामी आपसमा प्रेम गर्थ्योँ
रुखहरु आनन्दविभोर हुन्थे
प्रफुल्ल बतास
हाम्रा खुशिनेरै बहन्थ्यो
हाम्रा आस्थानेरै बहन्थ्यो
पानि –
छातीभित्र एक अर्को सुर्य लुकाएर
प्रेम निम्ति
हामीलाई सुभकामना दिन्थ्यो
अलिखित इतिहासकाकागज छैनन्
अक्षर र हरफहरु छैनन्
जसमा युद्ध थिएन, ईर्ष्या थिएन
चट्टानहरु मुस्कुराउँथे
चराहरु प्रिती गाउँथे
हामी त्यी सुकोमल मंजुलतामा
अमर प्रेम र बन्धुत्वक भाषाहरु
पातमा लेख्थ्यौँ
अफसोस !
हामीसंग कागज थिएन
यो बर्षौं पहिलेको कुरा हो
अभिनव जिन्दगीको यात्रामा
हामीले
कागज, कलम र मसि मात्रै होईन
कम्प्युटर पनि पायौं
दुर्भाग्य !
अब यहाँ सुन्दर सघन जंगलहरु छैनन्
शितल अप्रमेय बतासको बहाव छैन
सुर्य प्रतिबिम्बित गर्न सक्ने पानी छैन
मान्छेहरु रुखाझें उदार छैनन्
आकाश र पानीझैं निस्वार्थ छैनन्
प्रेम र शन्तिहेतु
पंक्षीझैं कलरव गाउँदैनन्
मान्छेहरु –
प्रेमलाई घृणा गर्छन
अलिखित इतिहासलाई घृणा गर्छनत्यसैले
मान्छे
त्यो इतिहासका साक्षीहरुलाई ध्वंश पार्दछ
म –
मेरो स्वार्थको निम्ति
बिनादोष आकाश र पानीलाई
बिटुल्याउन सक्तिनँ
निर्दोष रुखहरुको हत्या गर्न सक्तिनँ
कारण :
मा पृथ्वीको अस्मितालाई प्रेम गर्छु
म अलिखित इतिहासलाई प्रेम गर्छु
त्यो इतिहासलाई
मान्छेले
निर्लज्ज कुल्चेको छ / थुकेको छ
संचेतनाभन्दा सुदुर
निर्वासित गराइदिएको छ
के हामीफेरि
त्यो इतिहासलाई
दोहोर्याउन सक्तैनौ ?
जहाँ
प्रकृतिसंगै हाँस्न सकून
मान्छेहरु
मान्छे संगै हंसिरहोस प्रकृति
जहाँ हिन्दु, मुस्लिम, इसाई…..
सबको साझा घर होओस
जहाँ
अशेष प्रेम र बन्धुत्व होओस
२०५५/१०/३०