Sarita Tiwari – Phool Haru

सरिता तिवारी – फूलहरु

१.
निला, पहेंला फूलहरु
गुलावी फूलहरु
सेता,राता फूलहरु
आहा !
कसरी खेलिरहेका छन्
फूलहरुको प्रदेशमा-अनेकथरी फूलहरु

मलाई
फूलहरुले एक्कै स्वरमा
आत्मसम्मानका गीतहरु गाएको मन पर्छ
माफ गर
म फूलहरुलाई सौन्दर्यका निधि मात्रै मान्न सक्दिनँ
मलाई
फूलहरुले
आफ्नै काँधमा युग बोकेर हिँडेको मन पर्छ
मलाई
फूलहरुले
सगौरव विजय जुलुस निकालेको मन पर्छ

तर
तिमीले देख्यौ/देखेनौ ?
आज पनि
मान्छेको हाटबजारमा
हतार-हतार बेचिंदै थिए
अंगालाभरि फूलहरु

तिमीले देख्नेछौ
मेरा आफन्त फूलहरु
भोलि बिहान
मान्छेका अतिदुर्गन्धित गल्लीहरुमा
अर्धमुर्छित
बेवारिसे आवस्थामा फ्याँकिनेछ्न

२.
मैले बडो आदरसाथ
फूलहरुलाई
उठाएर राखेकी छु
आस्थाको उच्चतम् पहाडमाथि
र नाम दिएकी छु –
‘आमा’

आहा !
कसरी खेलिरहेका छन्
फूलहरुको देशमा
अनेकथरी फूलहरु

२०५६ / १ / १०