सरिता तिवारी – जुन, म र शहर
फक्रनै लागेका
मेरा समयहरु
मैले जुनलाई दिएँ
जुनले मलाई
असंख्य न्याना उज्यालाहरू दियो
र
मैले आफ्नो अनुहार
जूनै जूनले धोएँ
जूनसंगै फुलेका
सम्पूर्ण रहरहरु शीतलाई
दिएर छाडें,
र जुनेली बाटो हुँदै
म
एक नुतन शहरमा आइपुगें
शहरका उदाश निधारभरी
कोलाहलका अक्षरहरु थिए
शहरको
कर्कश र तितो-तितो साँझसम्म
यत्रतत्र घुम्दै
युद्धपीडित शरणार्थी शिविरको
एउटा ख्याउटे मान्छेले झैं
खुबै आशाले
शहरका आँखा हेर्न खोंजे
विस्मय !
आँखाभरी आगो बलेको देखें
मैले आगोमय शहर देखें
मान्छेहरु डढिरहेको देखेँ
यद्धपि आगो भयानक हुन्छ
म
आगोसंग आत्मसमर्पण गरेर
कायर मृत्यु मर्न चाहन्नँ
बरु
आगोबिच डढी- डढीकन
म शहरलाई जूनको उपत्यका बनाउन बाँच्छु
म
नानीहरुलाई जूनको उज्यालो बाँड्न बाँच्छु
भाद्र १२, २०५५