Sarita Tiwari – Nirashrit Kopila Haru

सरिता तिवारी – निराश्रित कोपिलाहरु

आँशुसंगै निदाउनु
आँशुसंगै ब्युँझनु
सङ निर्बोध आँखाभरी
आँशु सक्रिय छ

आँशु र पीडालाई नै स्वजन स्वीकार्दै
निर्विकार आँखाहरु दु:ख रोइरहेछन

कृत्रिम गमलाका फुलहरु
कोठाभरी, बैठकभरी
बार्दलिभरि सजाइएका छन्
कोठाबाहिर
खण्डहरु भू-क्षेत्रमा
निराश्रित कोपिलाहरु
असिना र आँधी खेप्दै छन्

महाशय !
हाम्रै बस्तीमा
हाम्रै शहरमा
कोपिलाहरुमाथी गोलाबारी गरिएको छ
डढेर छट्पटाउदै
आँशुसंगै अन्त्य हुन मन्जुर
कोपिलाहरुको दर्दनाक व्यथा
भो नसुनिदिनुस
मसानहरुको हूलले
जिउदै डढाईराखेको भो नहेरिदिनुस

मानवता हेरिरहोस टुलुटुलु
युग

सभ्यताको अट्टालिकाबाट चियाईरहोस
चिथोरेर
चोक्टा चोक्टा झिकेर
फुल्नुअगावै
कोपिलाहरुलाई
चपाई-चपाई निलिएको
भैगो नहेरिदिनुस
यहाँहरु त शिस्ट र शभ्य मान्छे
सुकिला मान्छे

२०५४ साउन