सरिता तिवारी – बालुवामथिको देश
अचेल
अक्सर मेरा सपनाहरु पानीमा डुब्छन
म
पानीमाथि हाँसीरहंछु
बालि छैनन् खेतहरुमा
बालुवा छ
गाउँ बिरामी छ
शहर हरामी छ
आँखा बन्द छन्
कलम बन्द छ थुप्रै आँखाहरु बारुदले भुटीएपछी
अस्मिताका पर्खालहरु भत्किएपछि
धेरै कुराहरु लुटिएका छन्
शान्ति-प्रदेशका हरेक किल्लामा
मानबरक्तका पसल खोलिएका छन्
पेटहरु भोकै छन्
फसल पोलिएका छन्
म आँखामा देशको सपना पालेकी छोरी
देशको पिंढीमा बसेर रुँदी छु
रात छिप्पिदो छ
अन्धकारमय !
भयावह !
जब उज्यालो हुन्छ
म देख्छु
भयङ्कर बाढी
उफ्
सबैथोक बाढीले डुबाइदिएछ
पानिभित्र / बालुवाभित्र
मेरा प्रियजनहरु !
मेरो माटो
चारैतिर समाप्ति
चारैतिर विनाश
म
देशकी छोरी
सम्बेदनाशुन्य पानीमाथि हाँसिरहेकी छु
हा …….. हा……….. हा……..
यो देश आफैमा
एउटा
बहुला खोला बनिरहेछ
क्रमश………