सरिता तिवारी – किशनवा
सखारै
एकजोर हलगोरुसंगै
खेतका निम्ति प्रस्थान गर्छ – किशनवा
किशनवा
न देशमा प्रजातन्त्र आएको खबर
कसैले दिएथ्यो उसलाई
न मानबाधिकारको कुरा
कसैले सुनायो
न त उसलाई
अरु दुनियाँदारीको नै चासो छ
कसैको बन्धक किशनवा
कसैको हरुवा किशनवा
मानौँ, उ कुनै मान्छे होइन
मानौँ, उ मान्छेका वर्गभित्र नै पर्दैन
किशनवा !
गुनासाहरु थिए, थिएनन् कुन्नि
ईस्वरसंग
भाग्यसंग
मान्छेहरुसंग
वा आफैसंग
र पनि चुपचाप-चूपचाप
एउटा थोत्रो जिन्दगि बाच्छौ
तर
थाह छैन कसैलाई
तिमीले कति हराभरा शरद् सिर्जेका छौ
लेखाजोखा छैन तिमि कसरी मुस्कुराइरहेछौ
भात रोटीभित्र
जो आफू निख्लै पेट
जुनी गुजर्छौ
यति धेरै उदार छौ र पनि
यति धेरै महान् छौ र पनि
किशनवा !
तिम्रो अनुहार अखबारहरुमा छैन
तिम्रो कुनै चर्चा परिचर्चा छैन