Ram Gopal Ashutosh – Sandeha

रामगोपाल आशुतोष – सन्देह
(मधुपर्क २०६६ भदौ)

सफलताको पहाड झरेर
पीडाको नदी तर्नु
आकाश बिछ्याएर छातीमा पाताल ओढ्नु
विश्वासको छाताबाट
छलको छुरी मुटुमाथि तपतप खस्दा
रगत जमेको घाउ सिएर बाँच्नु
कठिन हुंदो रहेछ
अचानो जिन्दगी र चुपीको कथा बुन्नु ।
यतिबेला
म किंकर्तव्यविमुढ उभिरहेको छु
त्यही गणतन्त्रको पूर्वसन्ध्यामा
जहाँ मेरो नाम गएको छ
मलाई टेकेर तिनै ठालुहरू
जसले उनेको अक्षरका जञ्जिरहरूमा बाँधिएर
अढाई शताब्दीसम्म चिच्याइरहेँ
मेरो देश खोई ? खोई मेरो देश ?
मेरो भाषाको व्याकरण फेरेर
मेरो जिभ्रोमा जञ्जिर कसेर
पुस्तकमा मेरै तस्बिर राखेर
परिभाषामा रूपको नेल र अनुहारको बनोटमा
अट्टहास हाँस्ने आगन्तुक शब्दहरू
मेरा तत्सम शब्दहरूमा तत्पुरुष समास खडा गरेर
आयातित तद्भव शब्दहरू
प्रत्यय लगाएर मेरो नामसँग
उभिएको पाउँछु उपसर्ग भएर सदनमा
मलाई थाहा छैन उनीहरूले
दुःखका अजस्र असिना छिचोल्दै
हिमालजडित
धुजाधुजा ढाकाटोपीले पसिना पुछिरहेको
मेरो कविताको बिम्ब बुझ्लान् नबुझ्लान्
समयको बहाव, दुःखको पहाड
र पीडाको नदीलाई गोडमेल गर्दै फलेको
खलामा सुकेको अन्नपात खुवाउँदै हुर्काएको
मेरो परिभाषा बोकेर जाने आगन्तुक शब्दहरूले
मेरो कवितालाई न्याय गर्लान् नगर्लान्
उत्साहाको खलामा छरपष्ट अन्नपात बटुल्दै
खट्टे भुटेर बाटोको सामल बनाई पठाएका
निरासाको शहर
आलिसान महलमा हुर्केका प्रत्ययहरू
सुकिलो लुगामा, आफूभै”m आयातित अत्तर भिरेका
वर्तमान सत्ता साझेदारहरूलाई थाहा होला नहोला
मूल्यवृद्धि, अभाव र अतिवृष्टिले सुकाएको मेरो खलामा
कसरी अन्नको भकारी घट्दै गयो
मेरो तत्सम शब्दमा
कसरी प्रत्यय लाग्दैछ, उपसर्ग लाग्दैछ
कसरी तद्भव अक्षरहरूले च्यापिएर
मेरो खलाको अन्न
मेरो नाउँको परिभाषाजस्तै भूगोल
रोइरहेको होला कुन्ठित भएर सभ्यता
युगको अन्तरपछि म सोचिरहेँछु
युगको यो एकदिनमा
छैटौँ यो किताब लेखनमा पनि
के पहिलेजस्तै तत्सम शब्दहरू
खलामा सुक्दै घटेको अन्नजस्तै हराएको परिभाषा
तद्भव, उपसर्ग र प्रत्ययको अतिक्रमणबाट बच्न
हातमा भिषा र मनमा कम्ब्याटको सपना बोकेर
पिठ्यूँमा बालुवा र पत्थरको भार सहँदै
दौडिरहेका होलान् उकाली-ओराली
या भुकिरहेका होलान्
कोठाभित्र बसेर सहरी कुकुरझैं
गाउँका कुकुरहरू बाहिर आएर भुक्छन् ।