Ram Kumar Basnet – Awaz Haru

रामकुमार बस्नेत – आवाजहरू
(मधुपर्क २०६६ भदौ)

केही आवाजहरू
तलबाट बढ्दै, चढ्दै
क्षितिजमा पुगे
र मौनतामा बिलाए ।
केही आवाजहरू
जो पहिल्यै
क्षितिजमा थिए
ती झर्दै, लड्दै र झर्दै
शून्यतामा हराए
यहाँ यस्ता,
लाखौँ प्रतिनिधि आवाज पनि छन्
न क्षितिजमा मौन छन्
न शून्यतामा हराउँछन्
आफ्नै अस्तित्वको लागि
मलिन आवाज उठाइरहन्छन् ।

-चौलाखर्क-९, सोलु