Pushkar Budhathoki ‘Saunteli’ – Mato Ko Geet

पुष्कर बुढाथोकी ‘साउँतेली’ – माटोको गीत
(मधुपर्क २०६६ भदौ)

बाँझै छ कि हराभरा घरबारीको पाटो ?
प्यारो लाग्छ आमा मलाई मै जन्मेको माटो ।
जब लाग्छ प्रदेशमा पीर एकनास
बाँच्ने एउटै आधार बन्छ बाआमाकै आश,
स्वदेशकै दुःख प्यारो विदेशी धनको साटो
प्यारो लाग्छ आमा मलाई मै जन्मेको माटो ।
सिङ्गो फाँट जस्तो मुटु भा’छ गरागरा
फर्की आफ्नै गाउँबेसी पार्छु हराभरा,
कहाँ मिल्छ घरको सुख लाग्दा लामो बाटो ?
प्यारो लाग्छ आमा मलाई मै जन्मेको माटो ।
साथीसँगी रमाउँदा हुन् काफल पाक्दा वनमा
वेदनाले राज गर्छ यता मेरो मनमा,
वियोगको घाउमा कैल्यै नलाग्ने भो खाटो
प्यारो लाग्छ आमा मलाई मै जन्मेको माटो ।

-फस्कु-१, दोलखा