रीता खत्री – म देश चपाइरहेको छु
(मधुपर्क २०६६ भदौ)
ए मान्छेहरू सुन-
मलाई दुःखको खडेरी परेको छ
सुखभोगले म मात्तिएको छु
अघाउञ्जेल घाँस खाएर
उघ्राइरहेको गाईझैँ
म शून्यशून्य बाँचिरहेको छु ।
आफू बाँच्नुबाहेक
मसँग अरू कुनै चाहना छैन
दायाँबायाँ, अगाडि-पछाडि हेर्ने कुनै फुर्सद छैन
माया गर्नेहरू साथसाथै छन्
माया लाग्नेहरू साथसाथै छन्
अरूको हात काटियोस्, खुट्टा काटियोस्
छाती च्यातियोस् र मारियोस्
नाथे अरू, अरू नै त हो नि
मलाई के मतलब
विरोध आए
राहत बाडौँला/सहिद घोषणा गरौँला
लेख्नेहरूको कलम भाँचिरहुँला
बोल्नेहरूको आवाज रोकिरहुँला
म कानुनभन्दा माथि
मलाई केको डर ? कसको डर ?
आँखा छलेर मान्छेको चीलले चल्ला उडाएझैँ
म मान्छे उडाइरहुँला ।
म शासक यो युगको
मलाई थाहा छ-
शासकहरू शोसक हुनुपर्छ
शोसकहरू शासक हुनुपर्छ
नमरी अरूलाई आफू ठूलो होइँदैन
मैले शताब्दीऔँदेखि सिकेको पाठ
बस्, म नियम मान्दैछु
शताब्दीऔँदेखि चलिआएको ।
म शासक,
म नजिक थुप्रै दुःखीयाहरू आउँछन् र बहकिन्छन्
हाम्रो आँसुको खोलो बगिरहेछ कोसीमा
हाम्रो अस्थिपञ्जर मक्काइरहेछ कणर्ालीमा
सुस्तामा झण्डा उखेलिरहेछ
सीताको छाती रेटिरहेछ जनकपुरमा
कपिलवस्तुमा बुद्ध डढिरहेछ
मान्छेहरू
आसोच बारिरहेछन्
सरकार किन मौन ?
म बुझ्छु उनीहरूको भाषा
र चपाउँछ बाघले बाख्रा चपाएझैँ मान्छेहरू
म शासक यो समयको
मान्छे चपाइरहेको छु
म शासक यो समयको
म देश चपाइरहेको छु ।।
-देउराली-७, भोजपुर