Narayan Nirasi – Maanchhe

नारायण निरासी – मान्छे
(मधुपर्क २०६६ भदौ)

मान्छेको मन पढ्न, चिन्न नसकी मान्छे यहाँ फस्दछ
आफ्नो यो बुइँमा चढाइ भुइँमा मान्छे स्वयं फाल्दछ
हेर्दा बाहिर जे छ भित्र पनि त्यो उस्तै कहाँ हुन्छ र
मान्छेको मन पढ्न चिन्न कहिल्यै मान्छे कहाँ सक्छ र ।
मान्छेको व्यवहार सङ्गतगुना बन्नेछ जस्तो पनि
मान्छे शील-स्वभाव, आचरणले छुट्टिन्छ कस्तो भनी
आफ्नो स्वार्थ अपूर्ण पूर्ण नगरी मान्छे कहाँ छाड्छ र
मान्छेकै भर, आड फेरि नमिले मान्छे कहाँ बाँच्छ र ।
वाचा गर्दछ जो भुलाउँछ उही गर्दै अनेकौँ भुल
चिप्लो घस्तछ जो फसाउँछ उही भन्ने सबैले बुझ
खोजेझैँ सब लोकको हित हुने मान्छे कहाँ मिल्छ र
मान्छेले सुख-दुःख बाँड्न नसके यो जिन्दगी चल्छ र ।
बिग्री हाल्दछ मेल यो बढिरहे सम्बन्ध राम्रो पनि
मान्छे बन्दछ शत्रुझैँ नजिकको सम्बन्ध बिग्रेपछि
मान्छेको मनभित्र कल्मष भए धोएर फालिन्छ र
मान्छेकै मन भाँचिएपछि कतै जोडेर जोडिन्छ र ।
मान्छेले डर मान्नुपर्छ किन हो देखेर मान्छे पनि
मान्छेको भीडमा हराउँछ यहाँ भेटेर मान्छे पनि
आफ्नो भिन्न स्वरूप धारण गरे मान्छे यहाँ बन्छ र
मान्छेले सुख-दुःखमा भिजिरहे संसार चल्दैन र ?

-घुर्कौली-८, सर्लाही