Rajendra Sharma – Sheesha Ra Ratna Haru

राजेन्द्र शर्मा – शीशा र रत्नहरु

सूर्यको किरण
फुटेका शीशाका टुक्रामाथि झरेपछि
जाज्वल्यमान् ज्योतिपुञ्जहरु झैँ
झल्झलाकार छन्
प्रत्येक टुक्रा
लाग्छ उनीहरु नै हीरा हुन् ।

मानौ यस धर्तीमा
उनीहरु बाहेक
टल्कने अरु बस्तु नै छैनन्
अरु त टल्कन जान्दै जान्दैनन् ।

शताव्दीयौँ देखि
यस्तै हुँदै आइरहेको छ
यस शहरमा
कुनै नौलो र अचम्मको घटना होइन यो ।

पहिले पनि फुटेको शीशा
यस्तै टल्केको थियो
आज पनि उस्को स्वरुपमा
रत्तिभर फरक छैन
चम्काइ उही हो टल्काइ उही हो ।

जोहरीहरु मोलतोल गरिरहेका छन्
सबभन्दा धेरै टल्कने
सबभन्दा ठूलो दाम पाइरहेछ
त्यसैले शहरका टुटे फुटेका शीशाहरु
अथक प्रयत्न गरेर आफूलाई टल्काइ रहेछन् ।

लिलाम बढाबढको बजारमा
उत्तर दक्षिण र पर परका जोहरहरु
भेला भएका छन्
शायद पहिले पनि यिनीहरु सजिएका हुँदाहुन्
ती जोहरका बैठक र शयनागारमा ।

यसपाली फेरि शीशाहरु
अमूल्य रत्न झैँ बिकेका छन्
जोहरहरुका उन्माद र अट्टाहासमा
फेरि पनि उज्यालो भरिएको छ ।

फुटेका शीशाहरु
हीरा र मोती झैँ सजाइका छन्
पाहुना घरहरुमा
मूल्यवान बनाइका छन् ।

पुनः एकपल्ट उपहास भएको छ
रत्नहरुको हीराहरुको अनि अमूल्य मोतीहरुको ।

धरान