डा. विश्वदीप अधिकारी – ढुङ्गामा ठोक्किएको पानी
नर्तकीहरूको नाचमा
कोही छमछम नाच्छन्
कोही यताउति खुर्र दगुर्छन
सङ्गीतले कहिले
दोहोलो पारेर नचाउँछ
कहिले नाच्दा नाच्दै टक्क
अड्याइदिन्छ ।
पाखा पर्वतबाट ओरालो लाग्ने
पानी पनि त्यसैगरी
कहिले खुर्र दौडन्छ त
कहिले टक्क अडिएजस्तो भान पार्छ
कहिले कलकल गर्छ
कहिले सुसेली रहन्छ
कहिले ढुङ्गामा ठोक्किएर फर्कन्छ ।
ढुङ्गामा ठोक्किएको पानीको
तरङ्ग हेर्न लायक हुन्छ
यसले बनाउने
आफ्नो आकार
वास्तवमा वर्णन गरेर बुझिँदैन
त्यो त ढुङ्गामाथि बसेर
आँखैले हेर्नुपर्छ ।
ढुङ्गामा ठोक्किएर
अलिकति पछाडि फर्केर
फेरी अगाडि बढ्ने
पानीको दृष्य
कहिल्यै एकतमासको भएन
किनभने त्यो दृष्यमा
पानी सधै नयाँ हुन्छ ।
ढुङ्गाको अगाडि हान्निएर आउने
हरेक नयाँ पानीले
ढुङ्गामा ठोक्किन पाउँछन्
त्यहि द्वन्द्व
कहिले सौम्य भइदिन्छ
कहिले रौद्र भइदिन्छ
कहिले पानीले
ढुङ्गा ठेलिरहेको हुन्छ
कहिले ढुङ्गाले
पानी फर्काइरहेको हुन्छ ।
नाङ्गो आँखाले
देख्ला नदेख्ला
तर त्यो द्वन्दले पनि
परिणाम त ल्याइरहेछ
त्यो पराजय पनि हो र
त्यो आनन्द पनि हो
किनभने ढुङ्गामा
पानी ठोक्किएपछि मात्र यस्तो हुन्छ ।
नर्तकीहरूको नाचमा
कोही छमछम नाच्छन्
कोही यताउति खुर्र दगुर्छन ।