Kumar Simkhada – Awahan

कुमार सिंखडा – आह्वान

देखें
यो धरातलको छाती देखें
घामको पहिलो किरण देखें
दिनको अन्तिम गोधूली देखें
भेटें
मनका धनी मित्र भेटें
पसिनामा रम्ने भेटें
आँधीसँग लड्ने भेटें
तैपनि
फर्कन्छु यही टाकुरामा
सुनगाभाको फुलबारीमा
मृग भुल्ने वन घारीमा

तराई हिमाल पहाडमा
मेची महाकालीमा
शिखर फेदी बेंसीमा

जीवन यो
ज्ञान खोज्ने कहानी हो
हरपल फुल्ने जवानी हो
बगिजाने पानी हो
त्यसैले
अमरज्ञानको ध्वनि बजाऊँ
पलपल गति जगाऊँ
शान्तिको सन्देश फैलाऊँ
मिलिजुली
आँसु झर्ने कोसीतिरमा
तोरी फुल्ने फाँट र भीरमा
धरतीको यो उच्च-शीरमा

तराई हिमाल पहाडमा
मेची महाकालीमा
शिखर फेदी बेंसीमा

आऊ
यी माटो मल्ने हात मिलाऊँ
अटुट अमर साथ मिलाऊँ
तिम्रो मेरो शक्ति मिलाऊँ
फुलाऊँ
प्रीत फुल्ने फूल फुलाऊँ
सदा खुसी मन फुलाऊँ
पौरखताले सुन फुलाऊँ
मिलिजुली
मधेशको फाँटफाँटमा
कर्णालीको गोठगोठमा
मुस्ताङ्को खोंचखोंचमा

तराई हिमाल पहाडमा
मेची महाकालीमा
शिखर फेदी बेंसीमा