मनु मन्जिल – ल्याम्पपोस्ट
(मधुपर्क बैशाख, २०६७)
निभेर दिनभर उभिन्छु अचेल सडक- किनारामा
बाँच्नै नहुने धेरैजसो दिनहरू बाँचेर
मात्र आयु नाघ्न नसकेर उभिए जसरी ।
यति खराब जिन्दगी पनि अभिनय होइन
यो विनाअर्थ उभिनु पनि सपना होइन ।
सिसाको यौटा आँखाले
बिहानको प्रत्येक रातो गुलाबमा आफ्नै लाज
प्रकाशित भएको हेर्दै
यो दीप्त आकास तल निभेर
दिनभर उभिन्छु अचेल सडक-किनारामा ।
बरु एकैछिन उभिए पनि तानाशाहको अनुहारको
तेज झ्याप्प निभ्नेगरी
शहादतअघि वीरले उभिएजस्तो उभिनु रै’छ ।
बरु निमेषभर उज्यालिएर एउटा विश्व हाँस्नेगरी
बादललाई मैदान बनाएर बिजुली दौडनु रै’छ
बरु कैलेकाहीँ त कसैले ढुङ्गैले हानिदिए पनि
आवाज दिँदै घण्टाघर ब्यूँझिन्थें कि म आफैँ
कसैले अघिल्तिर उभिएर ऐनाझैँ हेरिदिए पनि
एकछिन प्रेम मुस्कुराउँथेँ म आफैँ ।
पछारिनुभन्दा पनि बेमज्जाको छ
सधैँ जसरी म उभिएको छु
मात्र आयु नाघ्न नसकेर उभिएजसरी ।
जिन्दगी आफू मूल सडकैसडक हिँड्छ
उभ्याएर मलाई सडक-किनारामा ।
आज फेरि मेरो भाषा खोसेर ऊ हल्ला गर्दै गएको छ
मेरो मौनता लिएर ऊ गाउँतिर गएको छ
मेरो आवाज लिएर ऊ सहरतिर गएको छ
छाडा जिन्दगी मैले पर्खिउन्जेल आइपुग्छ आइपुग्दैन
अन्तिम साँझसम्म आइपुग्छ आइपुग्दैन
बाँच्न नजानेकामा माफी माग्नु थियो मैले ।
जिन्दगीमा जिन्दगी पर्खेर
दिनभर उभिन्छु अचेल सडक-किनारामा ।
सामुन्नेको पतझडको नाङ्गो रूखको अहं पनि
मसित छैन
हरियो स्वर्ग बोकेको इतिहास छैन ।
कुनै कन्जुसले आफ्नै प्रेमिकाको पाऊ नअट्ने गरी
ओछ्याइदिएजस्तो
आफ्नै एक धर्को छाया टेकेर उभिएको छु
यो अव्यवस्थित देशमा हाँस्नै गार्हो छ र मात्रै
हाँस्न पाए त हाँस्ताहाँस्तै आफैँ ढल्नेगरी
आफैँलाई,
गिज्याउन मन लागेको कत्ति हो
तर कसोकसो घाम डुबेपछि म पनि बल्छु धप्प
मातेको साँझ उज्यालिएर म वरिपरि बसेर फिस्स हाँस्छ ।
बटुवा आएर घडी हेर्छ मेरै उज्यालामा
कुनै बेघर बालकले काखझैँ सुन्दर
उज्यालो भूमि भेट्छ ।
पोखिदिन्छु एकान्तमा म पनि छाती
र कैलेकाहीँ त साँच्चै त्यहीँ कोही आएर बासै बस्छ
कमलाई थाहा छ कि यदाकदा यो
सहरको छेऊ
यौटा ल्याम्पपोष्टबाट लगातार जूनको उज्यालो खस्छ ।