Gopal Kumar Mainali – Hello Ma Shahid Boldai Chhu

गोपालकुमार मैनाली – हेलो ! म सहिद बोल्दैछु
(मधुपर्क २०६६ असोज)

मेरो उत्सर्ग देशका लागि रहेछ

मरेपछि थाहा भयो
सहिद सूचीमा मेरो पनि नाम परेछ
कसैले रकम बुझेपछि पत्ता लाग्यो
मरेपछि सहिद बन्ने थाहा पाए
म पत्रकार सम्मेलन गरेर मर्थे
क्यामरा र पत्रकारसामु
मुसुक्क हाँसेर मर्थेर् ।

हेलो आन्दोलनमा हराएको एउटा चप्पल
बाटामा कतै भेटिए
जतनले राखिदिनु
अर्को मैसँग छ
चुँडिएका हातखुट्टा
रेलिङ र सडकपेटीहरूमा
बेबारिसे अवस्थामा कसैले देखे
अस्पतालसम्म पुर्याकइदिनु
अर्को हातखुट्टा मेरै जीउमा छ ।

आलै खप्परका टुक्रा र गिदीहरू
कतै छरपस्ट छरिएका भेटिए
पोको पारेर राखिदिनु
गोलीले क्षतविक्षत टाउको मैसँग छ ।

हेलो
देशलाई नयाँ संविधान दिने
नेताहरू के योजना बनाउँदैछन् ?
एस.एम.एस. गर्दै गर्नु है
त्यसैको हामीलाई चिन्ता छ ।