बिप्लव प्रतिक – लास
बाटोको मोडमा
एउटा लास लगिँदैछ,
लास अर्थात् चिरनिद्रामा परेको एउटा मानिस ।
देख्नेबित्तिकै आफ्नो काल याद आएन
याद अर्थोक नै आयो, र विचलित भएँ म ।
त्यस शवको सपना याद आयो
मुर्दाले मर्नुअघि भोगेको यथार्थ याद आयो
त्योसँगसँगै कति सपना मरे
तर जीवनका कैयन् यथार्थ
त्योसँगसँगै झ्न् गाँठो पर्दै गएको कुरा याद आयो ।
के त्यो दुःखी थियो ?
र के कारणले दुःखी थियो ?
हुन सक्छ उसको दुःख नितान्त निजी थियो
वा त्यो सामूहिक दुःख थियो
र हुन सक्छ उसको लडाइँ सामूहिक थियो
यस्तै कुरा याद आयो र विचलित भएँ म ।
के उ सुखी थियो ?
र सुखी मान्छे हुन के–कस्ता पूर्वाधार चाहिन्छन् ?
हुन सक्छ उसको सुख नितान्त केन्द्रित थियो एउटा दूलोमा
वा त्यो फैलिएको थियो परिधिभन्दा बाहिर
र हुन सक्छ उसले अरूका लागि सुख खोजिरहेको थियो ।
दौरासुरुवाल वा कछाड लगाएका मलामीहरू
गरिब र थोरै थिए
तर, मलामी हेर्दैमा मृतक साधारण
वा असाधारण कसरी थाहा लाग्न सक्छ र ?
चर्चामा थिएन होला
तर, के चर्चामा नहुँदै मानिस साधारण हुन्छ ?
‘जाबो’ एउटा लास लगिँदैछ
र विचलित भएँ म ।
घट्टेकुलो, १७ मे १९९५