मुरारी पराजुली – मेरो विमति
सहस्र अँध्याराको ओढारबाट
निस्किदैन जबसम्म ऊ
र मिल्क्याइँदैन मुकुट उसको
मेरो विमति
तिम्रो सत्तासँग भइरहनेछ
र तिमीहरुले पहिनिरहेका
स–साना श्रीपेच विरुद्ध पनि
मेरो वितृष्णाको बज्र बजि्ररहनेछ
र जतिन्जेलसम्म उसको छाया
हाम्रो घरवार उजाडेर ठड्याइरहेको
उसको दरबारमा भइरहनेछ
मेरो विमति
जतिसुकै तिम्रो गालामा रंग चढे पनि
मेरो लोकतन्त्रको शिर ठाडो हुन सक्दैन
मेरो आस्थाको नूर उठ्न सक्दैन
मैले साफ–साफ भनिसकेको छु
अब पनि उसको लगौंटी धुन
मैले नामञ्जुर गरिसकेको छु
र प्रशस्तीमा भुरा नानीहरु बटुलेर
उसको गाना गाउन्न भनेको छु
मैले तिमीलाई
हाम्रो रोजाइ चिन भने
कहिल्यै तिमीसँग मेरो सुख मागिनँ
मैले तिमीलाई
हाम्रो भोगाइ बुझ भने
कहिल्यै तिमीसँग सत्ताको स्वाद मागिनँ
यसैगरी तिमी निदाइरहन्छौ भने
एकनास मुर्कट्टा आसनमा
हाम्रो खिलापमा आफ्नो आनन्द साट्छौ भने
मेरो विमति
तिम्रो सिंहासनसँग भइरहने छ
यतिन्जेल
मात्र हाम्रो प्रहार
नारायणहिटीसँग थियो
अब तिमीले बुझे हुन्छ
हाम्रो प्रहार
सिंहदरबारसँग पनि हुनेछ
हाम्रो निशाना
तिम्रा कल्कीमाथि पनि खनिनेछ।