Chandra Gurung – Naya Nepal

चन्द्र गुरुङ – नयाँ नेपाल

हिजो आज,
हुलकाहुल हुल मानिसहरु
म र म जस्ता थुप्रैलाई खोज्दै आईपुग्छन्
र माँग्छन् हाम्रो साथ
माँग्छन् हाम्रो हात
कि, अब उनीहरुले
नयाँ नेपालको निर्माण गर्दै छन् रे ।

सुन्छु अचेल
रेडियोले नयाँ नेपालको हल्ला फुक्छ
र गाउँ-शहरमा हक-अधिकारको कुरा चल्छ ।
यहाँ दिन दिनै उनीहरुले
म र म जस्ता थुप्रैलाई लान्छन्
र ‘उपत्यका बन्द’ गराउँछन्
हेर्दा हेर्दै बन्दको कालो आवरणभित्र
चेलीहरुको इज्जतमाथि लुटपाट मच्चिन्छ
असंख्य निर्दोष जीवनमाथि मारकाट चल्छ ।
पल्लो घरमा
छिमेकीहरु पुराना बन्दुक सफा गर्छन्
यहाँ हाम्रा साथीहरु
सुत्छन् सिरानीमुनि खुकुरी राखेर ।

म पढछु अचेल
पत्र-पत्रिकामा नयाँ नेपालको सपना छापिन्छ
र पहाड-मधेशमा समावेशीकरणको बहस चल्छ ।
आजभोली उनीहरुले
म र म जस्ता थुप्रोईलाई लान्छन्
र ‘नेपाल बन्द’ गराउँछन्
हुँदा हुँदै टोलबस्तीमार् इमानको मृत्यु हुन्छ
र ढुङ्गामुढाले मानवताको निर्मम हत्या हुन्छ ।
बिहानभरि चिया पसलमा
रगत पिउने योजनाको थाल्नी हुन्छ
दिनैभरि साँढे जुध्ने चाउरमा
भिड्ने तयारी गर्छन् मानिसहरु ।
म देख्छु अचेल
टिभीमा नयाँ नेपालमाथि जटिल गन्थन चल्छ
र देशैभरि राज्य पुनः संरचनाको प्रचार हुन्छ ।
यो देशमा उनीहरुले
म र म जस्ता थुप्रोईलाई लान्छन्
र ‘यातायात बन्द’ गराउँछन्
त्यसपछि धेरै मानिसहरुको दैनिकी
सुनसान सडकमा चक्काजाम हुन्छ
र हिंडी रहेको देश नै तोडफोडमा पर्छ ।
यहाँ, अस्त्रालयमा गजबको चहल-पहल छ
र नयाँ नेपालको खोजी गर्न
हतियार बोकेर मखुण्डोधारीहरु हिंड्दै छन् ।
अचेल हाम्रो देशमा
म र म जस्ताहरु सोच्छन्
र चकित हुन्छन्
कि, सायद नयाँ नेपालको निर्माणमा
बनाउनु भन्दा भत्काउनु बढी आवश्यक रहेछ ।