रामचन्द्र भट्टराई – चेतना
म विद्यालयमा उच्च विश्वविद्यालयादिमा
पुस्तकालय या यस्तै अनन्त ज्ञान–ध्यानमा
कलाकार र साहित्यकार या पत्रकारमा
ज्ञानी शिक्षक–विद्यार्थी सबैका ज्ञान–तारमा
मुक्तिका गीत गुञ्जाई गितार झुग्झुनाउँछु
युगको चेतना हुँ म, म धप्प–धप्प बल्दछु
पहिले शहरमा, त्यसका गल्ली र चोक–चोकमा
गल्छेडा भित्र वा चीसा छिँडी र खोंच–खोंचमा
बत्तीमुनि अँध्यारा ती चोटा–चुल्हा–दलानमा
छिन्–छिन् छिन्–छिन् चुरा बज्ने मझेरी र मटानमा
बल्दै उज्यालो पारेर म त्यहाँ पनि बल्दछु
जहाँ सदा म औँसीको कराल रात देख्दछु
मान्छे हुन्, तर मान्छेको जिन्दगी छैन क्यै जहाँ
प्राण हुन् जगका, किन्तु जगहीन स्वयं जहाँ
देश हुन् देशका, किन्तु देशद्रोही सरी जहाँ
शरीर झोल पारेर हाड मक्काउँछन् जहाँ
हलो–जूवा र हल्लोरु जिन्दगी एक छन् जहाँ
पसिना–बुँदको खोलो बगाएर सिँचे पनि
खलामा सुनको रास पहेँलपुर भए पनि
समस्याले थिचि थाप्लो थिल्थिलो छ जहाँ–जहाँ
त्यहाँका बुकुरा–छाप्रा–छाप्राका पत्र–पत्रमा
एक–एक थरी छिर्दै चेतना टिमटिमाउँछु
अनेक चेतना–पुञ्ज बनेर झल्मलाउँछु
त्यही प्रकाशको ज्वाला माला बनेर फेरि म
गाउँ–शहर सारा यो राष्ट्रमा धप्प बन्दछु
गुम्सिई मक्किएका छन् युगका चाहनाहरु
सडी हिरक्किएका छन् विकास–वाञ्छनाहरु
बिचैमा भाँचिएका छन् प्रतिभाका मुनाहरु
जेलभित्रै सडेका छन् राष्ट्रका नमुनाहरु
चुँडे राष्ट्रिय दौराका खुकुला ती तुनाहरु
झिक्दैछन् अब पाखण्डी तन्त्रमन्त्र टुनाहरु !
म हुँ आगो, म हुँ विद्युत, म हुँ बाढी, म हुँ हुरी
हुर्कन्छु अब हुरिन्छु चल्दैनन् ती चुरीफुरी