कर्ण प्रखर धिताल – हाम्रा रहरहरु
हाम्रो फाँटबारीमा
भरखरै टुसाएका मुनाहरु
बयली खेल्न नपाउँदै
प्रत्येक पल्ट कुल्चिएको छ
निर्मम दाँइ खेलिएको छ
हाम्रा रहरहरुमाथि ।
हाम्रो घर आँगनमा
भरखरै फक्रन लागेका कोपिलाहरु
कावा खान नपाउँदै
प्रत्येक पल्ट चुँडिएको छ
क्रुर पञ्जा मारिएको छ
हाम्रा रहरहरुमाथि ।
हाम्रो न्यानो दलानमा
भरखरै फैलिएका बाँहाहरु
हत्याराहरुँंग पौठे जोरी खेल्न नपाउँदै
कक्रयाक कुक्रुक्क भाँचिएका छन्
प्रत्येक पल्ट बज्र हानिएको छ
हाम्रा रहरहरुमाथि ।
हाम्रो प्यारो कोठामा
भरखरै हाँसिरहेका आत्माहरु
प्रेमको गीत गाउन नपाउँदै
प्रत्येक पल्ट लुटिएका छन्
तीखा–तीखा संगीन रोपिएको छ
हाम्रा रहरहरुमाथि ।
रहरहरु रोदनभित्र जाग्दैनन्
रहरहरु आक्रोशभित्र उदाउँदैछन्
रहरहरु क्रन्दनभित्र बाँच्दैनन्
रहरहरु साहसभित्र मौलाउँछन् ।
आऊ म कसम खान्छु, तिमी पनि खाऊ
मर्दै मर्दैनन् अमर हाम्रा रहरहरु
डो¥याउँछन् हामीलाई जिन्दगीको बाटोमा
मर्ने दिँदैनौ अजर हाम्रा रहरहरु
पु¥याउँछन् हामीलाई जिन्दगीको टाकुरामा ।
आऊ मैले हलो उचालिसकेँ
तिमी बिऊ लिएर आऊ
आऊ मैले गोरु हिँडाइसकेँ
तिमी कुटो लिएर आऊ
जाऔँ रोपौँ हाम्रा रहरहरु ।
दयाको भिक्षामा रहरहरु बाँच्दैनन्
अब हामी आफैंले सिँगारी खेल्नुपर्छ
हाम्रा रहरहरुमाथि दाइँ खेल्ने साँढेसँग
भाँचिदिनुपर्छ सिङहरु क्रुर
आत्मभेदन गर्दै आइरहेका हाम्रा रहरहरुमाथि ।
यातनाभित्र रहरहरु फक्रदैनन्
अब हामी आफैंले चुँडाल्नुपर्छ
हाम्रा रहरहरुमाथि मारिने क्रुर पञ्जाहरु
थुतिदिनुपर्छ नंग्राहरु हिंस्रक
झम्टन आइरहेका हाम्रा रहरहरुमाथि ।
आऊ मैले फरुवा उचाली सकेँ
तिमी तिस्कलो लिएर आऊ
आऊ मैले खुकुरी भिरिसकेँ
तिमी खुर्पेटो लिएर आऊ
जाऔँ बचाऔँ हाम्रा रहरहरु
कहरहरुभित्र रहर ब्यूँझदैनन्
अब हामी आफैले छिया–छिया पारिदिनु पर्छ
हाम्रा रहरहरुमाथि हानिने बज्रहरु
छटाछुन्न पारिदिनुपर्छ हातहरु हत्यारा
निमठ्न आइरहेका हाम्रा रहरहरुमाथि ।
अब हामी आफैंले झम्टनु पर्छ
हाम्रा रहरहरुमाथि रोपिने संगीनमाथि
टुक्रा टुक्रा पारिदिनु पर्छ संगीन खुनी
मुटु लुछ्न आइरहेका हाम्रा रहरहरुमाथि ।
रहरहरु आँसुभित्र मौलाउँदैनन्
रहरहरु आगोभित्र जगमगाउँछन्
रहरहरु आहतभित्र फस्टाउँदैनन
रहरहरु विस्फोटभित्र दन्दनाउँछन् ।
आऊ म सडकमा उत्रिसकेँ
तिमी आँगनमा आऊ
आऊ मैले “इन्कलाब” बोलिसकेँ
तिमी “जिन्दावाद” बोल आऊ
आऊ पोखौँ हाम्रा रहरहरु ।