सरु सुवेदी – प्रेम
निरन्तर समयको रफ्तारसँगै
घरि आगो घरि हिउँसँग
पौठां जोरी खेल्दै
सुस्किदै सुसेल्दै
कति उकाली काटिएछन्
कति देउराली र भञ्ज्यांग सुतिएछन्,
तरिएछन् थुपै्र चीसा जंघारहरु
पत्तै भएन जीवनले अनन्त सम्झौता गरिसकेछ
उल्लासहरुमा पर्वहरुमा
त्याग समर्पण गरीसकेछ ।
खुशी र खित्का बन्धकी राखेर
उन्मूक्त बैंस बुढ्याउँदै
मिसाउँदै तिता अनुभवहरु,
धकेल्दै छाँया
यात्रामा तल्लिन हामी
ओहो ! कति व्यस्तता कति व्यग्रता
ताप्दै राप्दै आगो र हिउँ
हरपल
हामी हिडीरहेकाछौ चलयमान
अनन्त निलोमा, पानीमा
काँडा टेकेर, कम्मर कसेर
जीवनको यो सुनौलो पीडा भित्र
एउटा घतलाग्दो कथा छ
प्रेमको ।