Basanta Koirala ‘Prabha’ – Andhakar Fali Aau (Nepali Gajal)

वसन्त कोइराला ‘प्रभा’ – अन्धकार फाली आऊ दिलको बत्ती बाली (गजल)
(मधुपर्क २०६६ चैत)

अन्धकार फाली आऊ दिलको बत्ती बाली
नव नेपालको स्वागतमा बजाउँदै ताली
दुःख दर्द सबै बिर्सी उज्यालोको खोजी गर्न
अधरलाई उठाउँदै बोकी हिँडौं ओठमा लाली
समता र सद्भावको टाकुरीमा पुग्नलाई
तर्दै जाऔं सयौं खोला नारायणी र काली
फूल-फूलाउन फल-फलाउन दुःख कष्ट सङ्गै
आफैं बनौं फूल रक्षक फूलबारीको माली
नवीन देशको खाका कोर्न सबै-सबै लागौं
मक्किएको थोत्रा-थात्री नियमलाई ढाली

-चोरमारा, नवलपरासी, हालः काठमाडौं