Lakshmi Mali – Chhadma Aatankakari

गाउँको एउटा लाटो छोरो
लट्टाई घुमाउँदै
आकाशतिर चङ्गा खोज्दै
कुनै पनि बेला हिँडेको हुन्छ
बालसुलभ खेलयात्रामा
बारीका डिलहरुमा
खेतका आलीहरुमा
भिडन्त र भोकमरीहरुमा
न चासो, न गुनासो
रोल्पा–रुकुमको नरसंहार
हुम्ला–जुम्लाको अनिकाल
वल्र्ड ट्रेड सेन्टर टावरको धुँवाको मुस्लो
अफगानिस्तानको गोलाबारुद
केहीमा विस्मात छैन
बस् !
उसलाई चङ्गा हेर्ने रहर
आँखा जुधाउनेसँग हाँस्ने रहर
न कुनै पूmलको कथासँग सहमति
न कुनै बूटको व्यथासँग विमति
एक्लै बनचरीजस्तै
स्वतन्त्रतामा रुपान्तरित जीवन उसको
एकदिन एकाबिहानै
गाउँको त्यो लाटो छोरोको
मृत्युको समाचार आउँछ
समाचारमा
आतंककारीको नाउँ छ ।