डा. माधव पोखरेल – म-नै ठेगानमा छैन
मन साबुनको फोको जस्तो छ; उडिहाल्दछ ।
रापले, सेपले थोरै छोयो कि फुटिहाल्दछ ।
छातीमा इन्द्रिनी पर्दा, अति नै चल्बलाउँछ ।
आँखा झिम्क्याउँदै चल्ने हावाले सल्बलाउँछ ।
एकाग्र हुन खोज्ने म; उत्ताउलिन्छ यो भने,
डेगमा राख्न खोज्ने म; सैसैला खेल्छ यो भने ।
म बस्ने ठाउँमा हुन्छु; यो भने, डुलिराख्तछ ।
केले अड्याऊँ यस्लाई? अन्यत्रै खालि भाग्दछ ।
आँखाले खिच्छ यो फोटो, मनैमा साँचिराख्तछ ।
मनमा साँचिने फोटो, औधि नै नाचिराख्तछ !
हलुङ्गो कति सारो छ, थोरैले फुर्किहाल्दछ ।
गरुङ्गो कति सारो छ, पाखुरै सुर्किहाल्दछ ।
साना-साना कुराले नै फतक्क गलिहाल्दछ ।
जिउँदै हुन्छ यो मान्छे, मन चैँ मरिहाल्दछ ।
यो छातीमा म-नै दुख्छ; हरायो जिउमा म-नै ।
विज्ञान भेट्न सक्तैन छातीमा, शिरमा म-नै ।
म-नै ठेगानमा छैन, मेरो ठेगान के भनूँ?
मैले सकिन साँच्चै नै ताँदो लाउन यो धनु !
अड्याउन नसक्ता के तिमीलाई दिऊँ भन?
तिमीसित भए केही टुङ्गो लाग्छ कि यो मन !