भरत बागलुङे – दाशका सपना
हिजो
जहाँ थियो
आज पनि
उहिं छ
हिजो
जस्तो थियो
आज पनि
उस्तै छ
मालिकको हुकुम विना
पृथ्वी घुम्न सक्दैन
या हावाले डुल्न सक्दैन
दाशले आज पनि
बोकेकै छ
एक जोडा स्थूल आँखामा
हिजो कै जस्ता बासी सपना !
कति हिमालहरु
पग्ले र बगे
घामको तापमा
तर दाश
पग्लेको छैन
कति जब्बर पहाडहरुले
घुँडा टेके र नुहे
खहरे खोला भनिएका
युग सचेत प्रवाहमा
तर दाश
नुहेको छैन
साँझको उल्लु जसरी
ध्यानमग्न मूद्रा धारण गरेर
मालिकको सामुन्ने
दाशले
स्वामी भक्तिको भाव प्रदर्शन गरिरहेको छ ।
जीवनका हार्दभावहरु
र सुनाखरी जस्ता सपनाहरु
लिलामीमा बाँकी के छ र अब ?
न संवेदना जीवित छ
न गरिमा बाँचेको छ
जल कुम्भी जस्तो भएको छ
एउटा थोत्रो जीवन
कहिले यता
र कहिले उता
बस् ! आदेशमा चल्नु छ
आदेशमा जिउनु छ
तिमी मान
या नमान
तिमी स्वीकार
या अस्वीकार गर
जीवनको परम् सत्य यहि भएको छ
म दाशलाई
वार–वार प्रश्न गरिरहन्छु
मेरो प्रिय मान्छे
तिमी किन आपैmलाई विश्वास गर्न असमर्थ छौ ?
फेरी पनि उ
मलाई अविश्वासले भरिएका
एकजोडा स्थूल आँखाले लखेटिरहन्छ ।
नारायणस्थान, बागलुङ