सुदीप पाख्रिन – प्रतिकूल मौसम
१. दिन/रात
आजभोलि
रातहरुका काँढाहरुले
हामीलाई बिझाउँदैछन्
— हाम्रा सपनाहरुले झैं
— हाम्रा रहरहरुले झैं
तरपनि
नदुख्नुको आडम्बर बाँचिरहेछौं
नघोच्नुको ढोंग गरिरहेछौं
विरोधाभाषपूर्ण बचाइको प्रतिक
— जिन्दगी —
— ढोइरहेछौं, ढोइरहेछौं,…………. ढोइरहेछौं
घामको छायाँ पारेर
अंधकारका राक्षसहरु हामी माथि
बर्बरतापूर्वक शासन गरिरहेका छन्
— उज्यालोलाई नै सयलमा पारेर
— उज्यालोलाई नै आझेलमा पारेर
२. गर्मी याम/जाडो याम
हर मौसमको
यो ठिहि¥याउने जाडोमा
हामी निर्विकल्प पीडाहरुको कम्बल ओढि हिंडिरहेछौं
— जिन्दगीका अपरिचित अँध्यारा गल्लीहरुमा
हामी रातलाई दुहेर
दुध जस्तै उज्यालो झर्ने अनुमानमा रम्छौं
हामी काँढाहरु बुनेर
बिश्वास जस्तै पूmल फुल्ने सोचाइमा खुशी हुन्छौं
भाच्चिएको बाटो जिन्दगीको
हिडिरहेछौं निरुदेश्य !
हिडिरहेछौं गन्तब्यहिन !!
३. दिनको एक कुनाबाट
शुरु भएर अन्धकार धुवाँ जस्तै
जिन्दगीको कोठाभरि जमिरहेछ
— प्रदुषण फैलाएर
— प्रदुषित भएर
हामी
नाकै नभएको नाक
नाकदानीले छोपेर
भोकको पलंगमाथि
मज्जासँग सुतिरहेछौं
दिन/दुनियाबाट बेखबर
हरेक खबर/अखबरबाट बेखबर
नसुतेका भान गर्नेहरु
शब्दहरुको जुलुस लिएर हिड्दछन्
उज्यालोको खोजिमा
दिउँसै सडकमा मैनबत्ती बालेर
प्रत्येक कुनाबाट ङिचिक्क……. मुस्कुराउँछ
— राक्षस अंधकार
४. बर्सातमै
बंजर भएका
मनहरुका फाँटहरु
गिद्धहरुका छायाँमुनि
काकाकुल झैं छट्पटाउँदैछन्
— पुरातन युगदेखि
हामी हेरिरहेछौं — शून्य आकाश
कर्याङकुरुङहरु
बिउ छर्ने सन्देश दिंदै
कहिल्यै उडेनन्
छेउको सुकेको रुखका हाँगाहरुमा बसेर
बसन्तको आगमनको खबर गाउँदै
कोइलीहरु कहिल्यै गाएनन्
५. हो !
यस प्रतिकूल मौसममा
हामी सबैले मज्जासँग सुत्नु पर्छ
हामी सबैले मज्जासँग निदाउनु पर्छ
चुँ……………..चुँ…………………चुँ……….
सुत्नु पर्छ !
साँच्चै नै !!
सुत्नै पर्छ !!!